काठमाडौँ । चिनियाँ कार निर्माता कम्पनीहरूलाई भारतको बजारमा प्रत्यक्ष प्रवेशमा कडाइ गरिए पनि चिनियाँ विद्युतीय सवारी (इभी) प्रविधिको प्रभाव भने भारतको अटोमोबाइल क्षेत्रमा विस्तार हुँदै गएको देखिएको छ। विश्वकै तेस्रो ठूलो अटोमोबाइल बजार भारतमा चिनियाँ प्रविधिप्रति निर्भरता बढ्न थालेको विभिन्न घटनाक्रमले संकेत गरेका छन्।
भारत सरकारले सन् २०२० यता चिनियाँ कम्पनीहरूको प्रत्यक्ष लगानी र बजार पहुँचमा कडा निगरानी तथा प्रतिबन्ध लागू गर्दै आएको छ। त्यतिबेला भारत–चीन सीमा क्षेत्रमा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको थियो। त्यसपछि नयाँ दिल्लीले चिनियाँ व्यवसायप्रति कडा नीति अपनाएको थियो।
यता, चीनले पनि पछिल्ला वर्षहरूमा आफ्ना उन्नत प्रविधि र प्राविधिक ज्ञान विदेशमा हस्तान्तरण गर्ने विषयमा थप कडाइ गर्न थालेको छ। तर, राजनीतिक तथा कूटनीतिक संवेदनशीलताका बीच पनि दुई देशका अटो उद्योगबीच अप्रत्यक्ष सहकार्य बढिरहेको देखिन्छ।
हालै भारतको प्रमुख अटो कम्पनी टाटा मोटर्सले प्रिमियम विद्युतीय सवारी उत्पादनका लागि चिनियाँ कम्पनी चेरीको सवारी प्लेटफर्म प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो व्यवस्था प्राविधिक साझेदारीभन्दा पनि आपूर्ति व्यवस्थामा आधारित हुनेछ।
टाटा मोटर्स र चेरी दुवैले सम्झौतामा कुनै शेयर लगानी वा स्वामित्व साझेदारी नरहेको स्पष्ट पारेका छन्। साथै, संवेदनशीलतालाई ध्यानमा राख्दै प्राविधिक ज्ञान हस्तान्तरण नहुने दाबी पनि गरिएको छ।
विश्लेषकहरूका अनुसार भारतले चिनियाँ कम्पनीहरूलाई प्रत्यक्ष बजार पहुँच सीमित गरे पनि चिनियाँ प्रविधिको प्रभाव भने विभिन्न माध्यमबाट भारतीय अटो उद्योगमा विस्तार हुन सक्ने संकेत देखिएको छ।
