काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहायताले केही घण्टामै सफ्टवेयर निर्माण गर्न सकिने ‘भाइब कोडिङ’ प्रविधि नेपालमा पनि तीव्र रूपमा फैलिन थालेको छ । सरकारी निकायदेखि निजी कम्पनीसम्मले यसलाई अपनाउन थालेका छन् ।
दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले हालै स्थापना गरेको ‘सफ्टवेयर विङ’मार्फत छोटो अवधिमै आधा दर्जनभन्दा बढी पोर्टल तथा डिजिटल प्रणाली विकास गरिसकेको जनाएको छ । टेलिकमका अनुसार वडादेखि मन्त्रालयसम्मका मागहरूलाई एकीकृत गर्न ‘डिमान्ड पोर्टल’ र धेरै बैठक हुने तर स्थान अभाव हुने समस्या समाधानका लागि ‘मिटिङ म्यानेजमेन्ट पोर्टल’ तयार गरिएको छ ।
कम्पनीले यी प्रणालीहरू आफ्नै इन्जिनियरहरूले एआईको सहायतामा विकास गरेको जनाएको छ । टेलिकमका वरिष्ठ व्यापार अधिकृत प्रकाशचन्द्र सिग्देलका अनुसार कम्पनीले युनिफाइड टिकेटिङ सिस्टम, कस्टमर केयर पोर्टललगायत अन्य प्रणालीको विकास कार्य पनि अघि बढाइरहेको छ ।
‘रिक्वेस्ट आउनेबित्तिकै हाम्रो प्रणालीले आफैं आईपी असाइन गर्ने गरी आईपी प्लानिङ प्रक्रियालाई स्वचालित बनाएका छौं,’ दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थासम्बन्धी कार्यक्रममा उनले भने ।
उनका अनुसार गुणस्तर तथा ग्राहक अनुभवमा सम्झौता गर्न नसकिने क्षेत्रमा बाह्य भेन्डरको सहयोग लिइने भए पनि साना तथा विशिष्ट आवश्यकताका सफ्टवेयर भने कम्पनी आफैंले विकास गर्ने दिशामा अघि बढिरहेको छ ।
