१५ असोज, काठमाडौं । म्यान्मारको राखाइन राज्यस्थित क्याउक्ताव सहरनजिकैको व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५० पुगेको छ।
सोमबार मध्याह्न नदी किनारमा रहेको उक्त बजारमा सेनाले दुईवटा बम खसालेको थियो। आक्रमणपछि घटनास्थलमा खटिएका स्थानीय राहतकर्मीहरूले मंगलबार कम्तीमा ५० जनाको मृत्यु भएको र ५८ जना घाइते भएको पुष्टि गरेका छन्।
स्थानीय राहतकर्मी वाइ हुन आउङका अनुसार बमबारीपछि लागेको भीषण आगलागीमा केही शव जलेर नष्ट भएका छन्। त्यसैले मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन्।
सुरक्षाका कारण नाम सार्वजनिक नगर्ने एक अर्का स्थानीय स्वयंसेवकले पनि मृतकको संख्या ५० पुगेको पुष्टि गरेका छन्।
उक्त क्षेत्रलाई नियन्त्रणमा राख्दै आएको जातीय विद्रोही समूह ‘अराकान आर्मी’ले यसअघि नै आक्रमणमा ४९ जनाको मृत्यु र ५८ जना घाइते भएको जनाएको थियो। उसका अनुसार घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ।
अराकान आर्मीका अनुसार मृत्यु हुनेमा बजारमा रहेका सर्वसाधारण, व्यापारी, खरिदकर्ता तथा सामान बोक्ने मजदुरहरू छन्।
सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा गृहयुद्ध चर्किएको हो। जारी द्वन्द्वका कारण देशभर ठूलो मानवीय क्षति भएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।
