Popular Posts

पाकिस्तानको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको अफगानिस्तानको दाबी

काबुल । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको र ११ जना सर्वसाधारण घाइते भएको तालिबान सरकारले जनाएको छ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो। आक्रमणमा तीनवटा घर ध्वस्त भएको उनको भनाइ छ।

मुजाहिदले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताएका छन्।

पाकिस्तानले भने आक्रमण आतंकवादी लुकेका स्थान र शिविरलाई लक्षित गरी गरिएको जनाएको छ। पाकिस्तानको सूचना मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा कारबाहीका क्रममा २२ जना आतंकवादी मारिएका छन्। लक्षित स्थानबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद फेला पारेर नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ।

कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पाकिस्तानको दाबी छ।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका समूहलाई अफगान भूमिबाट गतिविधि सञ्चालन गर्न दिएको र पाकिस्तानमा आक्रमण गर्न सहयोग गरेको आरोप लगाउँदै आएको छ। अफगानिस्तानले भने टीटीपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ।

दुवै पक्षले हताहतीबारे गरेका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। दुई देशबीच सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ।

यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण एक हजार एक सयभन्दा बढी अफगान नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ।

पाकिस्तानले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै पाकिस्तानभित्र आक्रमण गर्ने आतंकवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *