काठमाडौं —
भारत सरकारले देशभर उच्च–गतिको बुलेट ट्रेन सेवा विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । संघीय बजेट २०२६/२७ मा समेटिएको यस योजनाअन्तर्गत सातवटा प्रमुख बुलेट ट्रेन करिडोर निर्माण गरिने उल्लेख छ । यी करिडोरहरूले भारतका मुख्य शहरहरूलाई जोड्दै यात्राको समय उल्लेखनीय रूपमा घटाउने लक्ष्य राखिएको छ ।
उक्त योजनामा दिल्ली–वाराणसी–सिलिगुडी बुलेट ट्रेन मार्ग पनि समावेश गरिएको छ । सिलिगुडी क्षेत्र नेपालसँग जोडिएको महत्वपूर्ण नाका भएकाले यस परियोजनाले नेपाल–भारत आवागमन र व्यापारमा समेत असर पार्ने अनुमान गरिएको छ ।
मेचीपारी क्षेत्रमा भूमिगत टनेल
भारतले नेपालसँग सिमाना जोडिएको ‘चिकन्स नेक’ भनिने मेचीपारी क्षेत्रमा करिब ४० किलोमिटर लामो भूमिगत टनेल निर्माण गरी बुलेट ट्रेन सञ्चालन गर्ने तयारी गरेको छ । यो क्षेत्र रणनीतिक रूपमा संवेदनशील भएकाले रेललाई भूमिगत बनाउने निर्णय गरिएको बताइएको छ ।

उक्त टनेल मैदानी भू–भागमा अवस्थित पुरानो रेलमार्ग मुनि निर्माण गरिनेछ । टनेलको माथिल्लो सतहमा भने चार लेनको आधुनिक सडक विस्तार गर्ने योजना रहेको छ । यसले यातायात व्यवस्थापनसँगै सुरक्षाका दृष्टिले पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालका लागि सम्भावित प्रभाव
मेचीपारी क्षेत्र नेपाल–भारत सीमासँग नजिक रहेकाले बुलेट ट्रेन परियोजनाले सीमावर्ती व्यापार, पर्यटन, आवागमन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । विशेष गरी पूर्वी नेपालका लागि यसले नयाँ आर्थिक अवसर खोल्न सक्ने विश्लेषण गरिएको छ ।
भारतले यसअघि नै मुम्बई–अहमदाबाद बुलेट ट्रेन परियोजनामा काम अघि बढाइसकेको छ । ती परियोजनाबाट प्राप्त अनुभवका आधारमा नयाँ करिडोरहरूलाई तीव्र गतिमा कार्यान्वयन गर्ने तयारी रहेको जनाइएको छ ।