भारतका रक्षा सचिव सिंहद्वारा भुजस्थित सामरिक क्षेत्रको निरीक्षण

नयाँ दिल्ली ।

भारतका रक्षा सचिव राजेश कुमार सिंहले गुजरातको भुज क्षेत्रमा अवस्थित सामरिक रूपमा महत्वपूर्ण अग्रिम क्षेत्रहरूको निरीक्षण गरेका छन्। ४ र ५ फेब्रुअरीमा गरिएको उक्त भ्रमणको उद्देश्य सुरक्षा अवस्था, पूर्वाधार विकास र सैन्य क्षमताको प्रगतिबारे प्रत्यक्ष जानकारी लिनु रहेको बताइएको छ।
भ्रमणका क्रममा रक्षा सचिवले भारतीय सेनाको दीर्घकालीन आधुनिकीकरण योजनाअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरूको समीक्षा गरेका थिए। ती कार्यक्रममार्फत सेनालाई प्रविधिमैत्री, बहुआयामिक र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।
उनले दक्षिणी कमान्डका शीर्ष सैन्य अधिकारीहरू तथा कोणार्क कोरका कमाण्डरसँग छलफल गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता, समन्वय र तयारीको अवस्थाबारे जानकारी लिएका थिए। साथै विभिन्न सुरक्षा निकायको संयुक्त सहभागितामा सञ्चालन भइरहेको एकीकृत नियन्त्रण केन्द्रको अवलोकन पनि गरेका थिए।
भ्रमणका क्रममा रक्षा सचिवले बहु–एजेन्सी समन्वयमा आधारित अभ्यासको निरीक्षण गरे, जहाँ स्थल, जल र वायु क्षेत्रबाट हुने संयुक्त सैन्य सञ्चालनको प्रदर्शन गरिएको थियो। यस अभ्यासले विभिन्न सुरक्षा निकायबीचको समन्वय र तत्परताको झल्को दिएको बताइएको छ।
त्यसैगरी उनले सीमावर्ती क्षेत्रमा राष्ट्रिय एकताको सन्देश दिने ध्वज स्मारकको उद्घाटन गर्नुका साथै नयाँ पुस्ताका हतियार प्रणालीहरूको प्रयोगात्मक प्रदर्शन पनि अवलोकन गरेका थिए।


रक्षा सचिवको यो भ्रमण अग्रिम क्षेत्रमा सुरक्षा पूर्वाधार सुदृढीकरण, सैन्य तयारीको मूल्याङ्कन र विभिन्न सुरक्षा निकायबीच समन्वय थप प्रभावकारी बनाउने दिशामा केन्द्रित रहेको बताइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *