काराकास । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९ सय ७१ जना घाइते भएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले घटनाको पुष्टि गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाइएको जानकारी दिएकी छन् ।
राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भूकम्पको ठूलो असर परेको जनाइएको छ । उद्धारकर्मीहरू भत्किएका भवनहरूको भग्नावशेषमा फसेका मानिसहरूको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही स्थानमा भग्नावशेषभित्र फसेका व्यक्तिहरूको आवाज सुनिएको र उद्धार टोलीले उनीहरूलाई सुरक्षित निकाल्ने प्रयास जारी राखेको छ ।
रोड्रिगेजका अनुसार राजधानीको उत्तर क्षेत्रमा रहेको ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । सो क्षेत्रमा दर्जनौँ भवनहरू भत्किएका छन् भने सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
भूकम्पपछि प्रभावित क्षेत्रमा आपत्कालीन सेवा परिचालन गरिएको छ भने सरकारी निकाय तथा सुरक्षा टोलीहरू उद्धार कार्यमा केन्द्रित भएका छन् । अधिकारीहरूले मृतक तथा घाइतेको संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।
