प्रधानन्यायाधीश सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठी सहितका अधिवक्ताहरुद्वारा सर्वोच्चमा रिट, निर्णय बदर गर्न माग

काठमाडौं । संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवाल ले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

रिटमा संवैधानिक परिषद्को निर्णयलाई “वरिष्ठता मिचेर, बदनियतपूर्ण र स्वेच्छाचारी” भन्दै तत्काल बदर गर्न माग गरिएको छ । रिट निवेदक त्रिपाठीका अनुसार परिषद्को निर्णय संविधानको आधारभूत मर्मविपरीत भएकाले उत्प्रेषणको आदेशमार्फत बदर गरिनुपर्ने माग गरिएको हो ।

रिटमा भनिएको छ, “प्रवृत भावना राखी विना कुनै तर्कपूर्ण आधार संवैधानिक परिषदले गरेको मिति २०८३ वैशाख २४ गतेको सिफारिस प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत, बदनीयतपूर्ण एवम् स्वेच्छाचारी भएकोले उक्त निर्णय बदर गरी प्रथम वरीयतालाई सिफारिस गर्न परमादेश जारी गरियोस् ।”

निवेदकहरूले यसैबीच संवैधानिक परिषद्को निर्णय कार्यान्वयन नगर्न र संसदीय सुनुवाइ प्रक्रिया अघि नबढाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

यसअघि पनि सिफारिस प्रक्रियालाई लिएर न्यायिक तथा कानुनी वृत्तमा बहस चर्किएको थियो । यस विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले समेत निर्णयको आलोचना गर्दै सरकारलाई यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएकी थिइन् ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *