काठमाडौं, असार ३ गते । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार जारी प्रेस विज्ञप्तिमा पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भएको उल्लेख गर्दै पछिल्ला गतिविधिहरूले ती मूल्य–मान्यतालाई क्रमशः कमजोर बनाउने चिन्ता बढाएको जनाएको छ।
विज्ञप्तिमा लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता तथा नागरिक स्वतन्त्रतामा आधारित प्रणाली भएको स्मरण गराइएको छ।
पापडले सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्ने प्रयास, संसदको प्रभावकारी भूमिकामा अवरोध, नागरिक अधिकार संकुचन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास र सूचनाको हकमाथि प्रतिबन्धजस्ता विषयप्रति असन्तुष्टि जनाएको छ। साथै सामाजिक सञ्जाल तथा डिजिटल माध्यममाथि नियन्त्रण बढाउने प्रवृत्ति, विश्वविद्यालयहरूको स्वायत्ततामा हस्तक्षेप तथा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा देखिएको नीतिगत अस्पष्टताले नागरिकको जीवन, रोजगारी र व्यवसायमा प्रतिकूल असर पार्ने चेतावनी दिएको छ।
सञ्जालले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाको सम्मान गर्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता तथा नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न माग गरेको छ।
लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति, पेशागत संगठन, सञ्चारकर्मी, शिक्षित समुदाय तथा नागरिक समाजलाई एकजुट हुन पनि पापडले आह्वान गरेको छ।
यसैबीच, नेपाल पत्रकार महासंघले नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा असार ५ गते दिउँसो ४ बजे माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागी हुन पापडले सबैलाई आग्रह गरेको छ।
उक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. वर्षा रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. डा. रमेश कुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इ. सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन्।