काठमाडौं । सशस्त्र प्रहरी बलले हल्चोकस्थित मुख्यालयको मोटर ट्रान्सपोर्ट (एमटी) शाखामा भएको आगलागी घटना नभई दुर्घटनावश भएको जनाएको छ ।
बिहीबार सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागीलाई दुर्घटना भएको बताएका हुन्।
आगलागीबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै डीआईजी कार्कीले हालसम्मको प्रारम्भिक अनुसन्धानले घटना दुर्घटनावश भएको संकेत गरेको बताए।
उनले विपद्ले अन्य व्यक्तिहरूलाई जस्तै सशस्त्र प्रहरीलाई पनि प्रभावित पारेको उल्लेख गर्दै अन्तिम छानबिन प्रतिवेदन सार्वजनिक भएपछि थप विवरण स्पष्ट हुने जानकारी दिए।
सशस्त्रका अनुसार घटनाको विस्तृत छानबिन प्रक्रिया जारी रहेको छ र अन्तिम प्रतिवेदनपछि थप तथ्य सार्वजनिक गरिनेछ।
