काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएकी छन्।
बिहीबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले कृषि उत्पादन बढाउनुका साथै उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने गरी सरकार अघि बढिरहेको बताइन्। कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
मन्त्री चौधरीले रासायनिक मलको तत्कालीन आवश्यकता व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन्।
नेपालमा रासायनिक मलको आपूर्ति अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य तथा आपूर्तिको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली कृषि क्षेत्रमा पर्ने उनले बताइन्। त्यसैले दीर्घकालीन रूपमा वैकल्पिक तथा स्वदेशमै उत्पादन गर्न सकिने मलको प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन मल, बीउ, प्रविधि, बजार तथा उद्योगबीचको सम्बन्धलाई व्यवस्थित बनाउनुपर्नेमा पनि मन्त्री चौधरीले जोड दिइन्।
सरकारले कृषि उत्पादनलाई प्रशोधन तथा औद्योगिक क्षेत्रसँग जोडेर किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्ने लक्ष्य राखेको उनले बताइन्। यसबाट कृषि क्षेत्रमा लगानी बढ्नुका साथै रोजगारीका अवसरसमेत विस्तार हुने सरकारको अपेक्षा रहेको छ।
