जनकपुर माघ २३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको नेतृत्व चयन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सोमबार सम्पन्न बैठकले नेताहरुको कार्य विभाजन गरी पार्टी मातहत समितिलाई परिपत्र गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी पार्टीका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पाएका छन् भने लाक्पा शेर्पालाई उपप्रमुख बनाइएको छ । पार्टी स्कूल तथा प्रशिक्षण विभागको प्रमुखमा सुरेशकुमार मण्डल र उपप्रमुख अम्बिका काफ्ले चयन भएका छन् । पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुख रेणुका सिंह भएका छन् । प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुख पूर्ण बस्नेत बनेका छन् । बस्नेत यस अघि पनि प्रचार विभागकै प्रमुख थिए । शम्भु झालाई विभागको उपप्रमुख बनाइएको छ । त्यसैगरी महिला विभागमा प्रमीला यादव प्रमुख र शशी लिङदेन उपप्रमुख बनेका छन् । स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख सुरेन्द्र कुमार यादव र उपप्रमुख अब्दुल कालाम अन्सारीलाई तोकिएको छ । सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागमा विनिता यादव र उपप्रमुख विणा सिन्हा, कृषि तथा भूमि व्यवस्था विभागमा सञ्जय सिंहलाई प्रमुख र मालामती राना थारुलाई उपप्रमुख बनाइएको छ । जसपा नेपालले वन वातावरण तथा विपद् व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान, सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र र उपप्रमुखमा रामबहादुर जाग्री, वौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतो र उपप्रमुखमा प्रचण्ड पौडेल, शिक्षा विभागमा योगेन्द्र यादव र उपप्रमुख अन्जेस दाहाल साथै उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।