डडेल्धुरा ।
डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।
परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको भरुवा बन्दुक समातेर फोटो खिच्न लाग्दा बन्दुक अचानक पड्किएको प्रहरीले जनाएको छ। उक्त घटनामा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा हाल आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले घटनामा संलग्न भएको आशंकामा परशुराम नगरपालिका–२ का गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।