मध्यपूर्वमा अमेरिका, इसराइल र इरानबीच चलिरहेको युद्धले तनाव झन् बढाएको छ। पछिल्ला घटनाक्रम अनुसार इरानले खाडी क्षेत्रका विभिन्न स्थानलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ।
इरानले दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ड्रोन प्रहार गरेको खबर आएको छ। आक्रमणपछि केही मानिस घाइते भएको जनाइएको छ। यद्यपि विमानस्थल पूर्ण रूपमा बन्द नभई कडा सुरक्षा सतर्कतासहित सञ्चालन भइरहेको बताइएको छ।
यसअघि अमेरिका र इसराइलले फेब्रुअरी अन्त्यतिर इरानका विभिन्न सैन्य र रणनीतिक लक्ष्यहरूमा संयुक्त हवाई आक्रमण गरेका थिए। त्यसपछि क्षेत्रीय तनाव तीव्र बनेको हो।
इरानले त्यसको जवाफस्वरूप इसराइलका सैन्य संरचना र अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इरानसँग निकट सम्बन्ध रहेको हिजबुल्लाहले पनि इसराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको खबर आएको छ।

युद्धका कारण फारसको खाडी हुँदै हुने तेल ढुवानी र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रभाव परेको छ। विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ।
संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न र तनाव कम गर्न आह्वान गरिरहेका छन्। तर दुवै पक्षले आक्रमण जारी राखेकाले मध्यपूर्वको अवस्था अझ जटिल बन्ने संकेत देखिएको छ।