चीन कृत्रिम बुद्धिमत्ता (एआई) लगायत उदीयमान प्रविधिमा केन्द्रित

चीनले आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकमार्फत विश्वलाई स्थिरताको सन्देश दिनुका साथै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत उदीयमान प्रविधिमा केन्द्रित रणनीति अघि सारेको छ। चीनको राष्ट्रिय विधायिका National People’s Congress (एनपीसी) र राजनीतिक परामर्श निकाय Chinese People’s Political Consultative Conference (सीपीपीसीसी) को संयुक्त वार्षिक लाई सामान्यतः “टु सेसन” भनिन्छ, जहाँ देशको आर्थिक, राजनीतिक र प्रविधि सम्बन्धी प्राथमिकता तय गरिन्छ।


विश्वका धेरै देशहरू मध्यपूर्वको तनाव र युद्धजन्य अवस्थाले व्यस्त भइरहेका बेला चीनले भने आफ्नो दीर्घकालीन नीति र विकास रणनीतिमा ध्यान केन्द्रित गर्दै यी महत्वपूर्ण राजनीतिक बैठकहरू सञ्चालन गरिरहेको छ। एनपीसी चीनको सर्वोच्च विधायिका हो, जसले कानून निर्माण, संविधान संशोधन र राज्यको बजेट अनुमोदन गर्ने अधिकार राख्छ। व्यवहारमा भने यसले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वले तय गरेका निर्णयहरूलाई औपचारिक स्वीकृति दिने काम गर्ने विश्लेषकहरू बताउँछन्।
यस वर्षको बैठकमा चीनले आफूलाई विश्व राजनीतिमा स्थिर र विश्वसनीय शक्ति भएको सन्देश दिन खोजेको देखिन्छ। राष्ट्रपति Xi Jinping नेतृत्वको सरकार आर्थिक सुस्तीका बीच चीनलाई विश्वको अग्रणी आर्थिक तथा प्रविधि शक्तिका रूपमा स्थापित गर्ने रणनीतिमा केन्द्रित रहेको विश्लेषण गरिएको छ।
बैठकमा विशेषगरी ‘एआई प्लस’ नामको नयाँ नीति अवधारणाले ठूलो ध्यान तानेको छ। यस योजनाअन्तर्गत कृत्रिम बुद्धिमत्तालाई उद्योग, यातायात, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा व्यापक रूपमा प्रयोग गर्ने लक्ष्य राखिएको छ। चीनले आगामी आर्थिक विकासको आधार प्रविधि र नवप्रवर्तनलाई बनाउने योजना अघि बढाएको छ। साथै सेमिकन्डक्टर, रोबोटिक्स, क्वान्टम कम्प्युटिङ, सिक्स–जी सञ्चार र ब्रेन–कम्प्युटर इन्टरफेसजस्ता क्षेत्रमा पनि ठूलो लगानी गर्ने तयारी गरेको छ।
चीनले आगामी पञ्चवर्षीय योजनाअन्तर्गत विज्ञान तथा प्रविधिमा थप लगानी गर्दै अर्थतन्त्रका विभिन्न क्षेत्रमा एआईको प्रयोग विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेको छ। विशेषज्ञहरूका अनुसार ‘एआई प्लस’ अवधारणाले उत्पादन प्रणालीदेखि स्वास्थ्य सेवा र शिक्षा प्रणालीसम्म व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
यससँगै चीनले आफ्नो आर्थिक संरचना पनि परिवर्तन गर्ने प्रयास गरिरहेको छ। विगतका दशकहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः घरजग्गा र पूर्वाधार निर्माणमा आधारित थियो। तर अहिले सरकारले प्रविधि, औद्योगिक नवप्रवर्तन र उच्च प्रविधि उद्योगमा आधारित अर्थतन्त्र निर्माण गर्न ध्यान केन्द्रित गरिरहेको छ।
सरकारले आगामी वर्षका लागि करिब ४.५ देखि ५ प्रतिशत आर्थिक वृद्धि लक्ष्य तय गरेको छ, जुन पछिल्ला दशकहरूको तुलनामा केही कम मानिन्छ। यसले चीनको अर्थतन्त्र विस्तारको गति केही सुस्त हुन सक्ने संकेत पनि गरेको छ।
अर्कोतर्फ चीनले घरेलु उपभोग बढाउने नीति पनि अघि सारेको छ। निर्यातमा निर्भर अर्थतन्त्रलाई सन्तुलित बनाउन नागरिकलाई खर्च बढाउन प्रोत्साहन गर्ने प्रयास भइरहेको छ। तर घरजग्गाको मूल्य घट्नु, युवामा बेरोजगारी बढ्नु तथा बचत गर्ने परम्परागत प्रवृत्तिले खर्च वृद्धि चुनौतीपूर्ण बनेको विश्लेषण गरिएको छ।
यसैबीच चीनले नवीकरणीय ऊर्जा उत्पादन विस्तार गर्दै आयातित तेल र ग्यासमा निर्भरता घटाउने लक्ष्य पनि अघि सारेको छ। ऊर्जा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले हरित ऊर्जा र स्वदेशी प्रविधिमा लगानी बढाइँदै गएको छ।
समग्रमा चीनको यस वर्षको राजनीतिक बैठकले दुई प्रमुख सन्देश दिएको देखिन्छ—एकातर्फ विश्व राजनीतिमा स्थिर र दीर्घकालीन योजना बनाउन सक्ने शक्ति भएको छवि निर्माण गर्ने प्रयास, र अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता तथा उच्च प्रविधिलाई केन्द्रमा राखेर आगामी आर्थिक विकासको नयाँ आधार तयार गर्ने रणनीति।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *