मेटाभर्स परियोजना बन्द गर्ने निर्णय

काठमाडौँ ।

इन्टरनेट वा सामाजिक सञ्जालको भविष्य ‘मेटाभर्स’ नै हो भन्दै मार्क जकरबर्गले पाँच वर्षअघि फेसबुकको नामै फेरेर ‘मेटा’ बनाए भने मेटाभर्सका लागि अर्बौं डलर लगानीसमेत गरे । उनको परिकल्पनाअनुसार डिजाइन गरिएको मेटाभर्स यस्तो भर्चुअल दुनियाँ थियो, जहाँ मानिसले आआफ्नो अवतारमार्फत थ्रीडी स्पेसमा एकअर्कालाई भेट्ने, कुराकानी, काम वा अन्तरक्रियादेखि नाच्ने/गाउने, व्यापार–व्यवसाय सबैथोक गर्न सक्थे । तर यति बेला जकरबर्गले आफ्नो महत्त्वाकांक्षी मेटाभर्स परियोजना बन्द गर्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मेटाले आफ्नो भर्चुअल रियालिटी (भीआर) सोसल प्लाटफर्म ‘होराइजन वल्डर््स’ बन्द गर्ने घोषणा गरेको हो । आगामी १५ जुनदेखि यो प्लाटफर्म मेटाका भर्चुअल रियालिटी उपकरणमा उपलब्ध हुनेछैन । यस परियोजनामा मेटाले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । सन् २०२० देखि मेटाको भीआर/एआर विभाग ‘रियालिटी ल्याब्स’ ले करिब ८० अर्ब डलर नोक्सानी बेहोरेको तथ्यांक छ । कम्पनीले सन् २०२६ को जनवरीमा सार्वजनिक गरेको चौथो त्रैमासिक प्रतिवेदनअनुसार उक्त एकै त्रैमासमा मात्रै रियालिटी ल्याब्सले ६.०२ अर्ब डलर घाटा बेहोरेको थियो । यस विभागले प्रतित्रैमास ४ अर्ब डलरको नोक्सानी बेहोर्ने गरेको कतिपय सञ्चारमाध्यमले जनाएका छन् । 

होराइजन वल्डर््स एपलाई मार्चको अन्त्यमा मेटाको क्वेस्ट स्टोरबाट हटाइने र १५ जुनदेखि भर्चुअल रियालिटी प्लाटफर्महरूमा उपलब्ध नहुने सीएनबीसीले जनाएको छ । पत्रकार लोला मूर्तिका अनुसार मेटाले अब आफ्नो प्राथमिकता मेटाभर्सबाट हटाएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित गरेको छ । ‘मेटाका लागि मेटाभर्स निकै महँगो बाजी बन्न पुग्यो,’ मूर्तिले लेखेकी छन्, ‘अब यो एप भीआर डिभाइसमा नभई मोबाइलमा मात्र सीमित रहनेछ ।’ मेटाले पछिल्ला ५ वर्षमा मेटाभर्सका लागि ८० अर्ब डलरभन्दा धेरै लगानी गरेको र रियालिटी ल्याब्सले सन् २०२० यता ७३ देखि ८० अर्ब डलर नै नोक्सानी बेहोरेको अनुमान छ । 

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *