
काठमाडौं — नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकारले निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् । उनले सरकारको पछिल्लो गतिविधि र अभिव्यक्तिले समयमै निर्वाचन गराउनेतर्फ गम्भीरता नदेखिएको संकेत गरेको बताए ।
थापाले सरकारका जिम्मेवार पदाधिकारीहरूले मौसम, हिमपात तथा भौगोलिक कठिनाइलाई देखाएर निर्वाचन दुई चरणमा गर्ने वा केही स्थानमा पछि सार्ने कुरा उठाइरहेको भन्दै त्यसलाई निर्वाचन टार्ने रणनीतिका रूपमा व्याख्या गरे । उनका अनुसार यस्ता बहानाले लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।
उनले वर्तमान सरकार असंवैधानिक र जनउत्तरदायी नभएको दाबी गर्दै निर्वाचनको सुनिश्चितता गर्नुपर्ने जिम्मेवारीबाट सरकार पन्छिन खोजिरहेको आरोप लगाए । एमालेले यसअघि नै निर्वाचन प्रभावित हुने आशंका व्यक्त गर्दै आएको स्मरण गराउँदै थापाले अहिलेका गतिविधिले त्यसैको पुष्टि गरेको बताए ।
थापाले संविधानअनुसार समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा निर्वाचन सार्नु लोकतन्त्रका लागि घातक हुने चेतावनी दिए । उनले सरकारले स्पष्ट कार्यतालिका सार्वजनिक गरी निष्पक्ष र समयमै निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरे ।
उपाध्यक्ष थापाद्वारा सरकारमाथि निर्वाचन सार्ने बहाना खोजिएको आरोप