काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले निर्वाचन सुरक्षाका लागि बुधबारदेखि नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनालाई निर्वाचन सुरक्षामा खटाउने स्वीकृति दिएपछि सेना परिचालन हुने भएको हो।
सरकारले तयार पारेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित हुनेछन्। यस योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना आ–आफ्नो जिम्मेवारीसहित सुरक्षा व्यवस्थामा खटाइनेछ।
निर्वाचन सुरक्षालाई तीन तहमा विभाजन गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचनमा खटिने विशेष प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ। सेनाले मुख्य रूपमा संवेदनशील क्षेत्रको सुरक्षा, मतपत्र ढुवानी, मतपेटिका संरक्षण, मतगणना स्थलको सुरक्षा तथा आवश्यक परेमा द्रुत प्रतिक्रिया सहयोग गर्नेछ।
सरकारी स्रोतका अनुसार निर्वाचन अवधिभर झण्डै ८० हजार नेपाली सेना तयारी अवस्थामा रहनेछन्। निर्वाचनअघि, निर्वाचनको दिन र मतगणना सकिएसम्म सेना सुरक्षामा संलग्न रहने जनाइएको छ।
निर्वाचन आयोगले शान्तिपूर्ण र विश्वासयोग्य निर्वाचनका लागि सबै सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताउँदै आएको छ। सरकारले समयमै सुरक्षा तयारी सुरु गर्दा निर्वाचन वातावरण थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
आगामी निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा सेना परिचालनको निर्णयलाई निर्वाचन सुरक्षाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
निर्वाचन सुरक्षाका लागि बुधबारदेखि सेना परिचालन