प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा सम्पन्न हुने

काठमाडौं, २२ माघ २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारेकी छन्। तोकिएकै मितिमा चुनाव हुने भएकाले कुनै पनि किसिमको अन्योलमा नपर्न उनले सबैलाई आग्रह गरेकी छन्।
मतपत्र छपाइको अवस्था बुझ्न जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा गरिएको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको विषयमा फैलाइएका आशंकाहरू निराधार भएको बताइन्। उनले ढुक्क भएर निर्वाचनको तयारीमा जुट्न सबै सरोकारवालालाई आह्वान गरिन्।
प्रधानमन्त्रीले मौसम अनुकूल हुने विश्वास व्यक्त गर्दै देशका सबै भूगोलमा सहज रूपमा मतदान प्रक्रिया सम्पन्न गरिने बताइन्। निर्वाचनपछि संविधानअनुसार नयाँ प्रतिनिधि सभा गठन गरी सरकार हस्तान्तरणको प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्। निर्वाचन आयोग, सुरक्षा निकाय र प्रशासनिक संयन्त्रबीच प्रभावकारी समन्वय भइरहेको भन्दै उनले तयारी सन्तोषजनक रहेको बताइन्।


केही दुर्गम र हिमाली जिल्लामा मौसमका कारण चुनौती देखिए पनि सरकार र निर्वाचन संयन्त्रले आवश्यक पूर्वतयारी गरिसकेको प्रधानमन्त्रीको दाबी छ। कुनै पनि हालतमा निर्वाचन दुई चरणमा नहुने र एकै दिन देशभर मतदान हुने उनले पुनः स्पष्ट पारिन्।
सरकारले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधारका रूपमा लिँदै नागरिकको सहभागिता बढाउन र विश्वास कायम राख्न सबै आवश्यक कदम चालिरहेको प्रधानमन्त्री कार्कीले बताइन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *