काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताका जल्दाबल्दा समस्यामा परिणाममुखी काम गरेर देखाउन चुनौती दिएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता विषयमा सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाए।
सरकारले अघि सारेको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको भन्दै उनले निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अलपत्र रहेको र सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको बताए। शिक्षा क्षेत्रका समस्याप्रति उनले सरकार र संसद्को ध्यानाकर्षण गराए।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीप्रति प्रश्न उठाउँदै राईले सरकारसँग रहेको राजनीतिक शक्तिको प्रयोग गरेर भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न चुनौती दिए। भ्रष्टाचारीमाथि कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने उनले बताए।
उनले गिरिबन्धु टी–स्टेट र वाइडबडी प्रकरणको छानबिन तथा कारबाही अघि बढाउन सरकारलाई प्रश्न गर्दै लोकप्रियताका लागि मात्रै घोषणा नगर्न आग्रह गरे।
राईले आफूहरूले उठाउँदै आएको फ्रि भिसा, फ्रि टिकट तथा किसानका समस्यामा सरकारले टालटुले नीति अपनाएको आरोप लगाए। आन्दोलनकारीलाई जेल हाल्दैमा परिवर्तन नआउने उनको भनाइ थियो।
‘जेनजी’ आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै उनले सरकारको नियतमाथि समेत प्रश्न उठाए। संसद् बन्द रहेको अवस्थामा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै कदम नचाल्न सरकारलाई चेतावनी दिँदै उनले आफ्नो दल यस्ता विषयमा सजग रहेको बताए।
