नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि संघर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन्।
मोदीले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर जोखिमका बीच पनि यात्रुहरूको ज्यान जोगाउन उनले देखाएको साहस र दृढताको प्रशंसा गरेका हुन्।
फ्लाई दुबईको उक्त विमानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ। सञ्चारमाध्यमका अनुसार यात्रुमध्ये १६६ जना इजरायली नागरिक थिए। सह–पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षका क्रममा क्याप्टेन मच्छर घाइते भएका थिए।
मोदीले सामाजिक सञ्जालमार्फत गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र दृढताका साथ अरूको जीवन रक्षा गर्न प्रयास गरेको बताएका छन्। उनको साहसले ठूलो दुर्घटना रोक्न र सयौँको ज्यान जोगाउन योगदान पुगेको भन्दै मोदीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि क्याप्टेन मच्छरको साहसको प्रशंसा गरेका थिए। घाइते अवस्थामा समेत उनले विमानमा हुन सक्ने ठूलो दुर्घटना रोक्न संघर्ष गरेको नेतान्याहुले बताएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका हुन्। उनको उपचारका क्रममा रहेका उनलाई भेट्न उनका अभिभावक साउदी अरेबिया पुगेका छन्।
मच्छरसँग बोइङ–७३७ विमान उडानको १३ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको बताइएको छ। उनले सन् २०२२ देखि फ्लाई दुबईमा काम गर्दै आएका छन् भने यसअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा समेत कार्यरत थिए।
क्याप्टेन मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफ्नो पाइलट बन्ने यात्राबारे बताएका थिए। परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि आफू उड्डयन क्षेत्रमा आकर्षित भएको उनले बताएका थिए।
आफ्नो पहिलो व्यावसायिक उडानलाई जिम्मेवारीका कारण चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उनले उड्डयन क्षेत्रमा काम गर्दा दबाब सामना गर्न सिकेको बताएका थिए।
