उपभोक्ता लाइनमा, सरकारी निकायदेखि व्यवसायीसम्म ‘अनावश्यक सञ्चिति’लाई दोष दिँदै
काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको आयात नियमित भइरहे पनि बजारमा भने अभाव हट्न सकेको छैन। आन्तरिक वितरण तथा व्यवस्थापनमा समस्या देखिँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ।
तर सरकारी निकायदेखि ग्यास उद्योगी र विक्रेतासम्मले बजार व्यवस्थापनको कमजोरीभन्दा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चिति गरेको दाबी गर्दै आएका छन्।
गत फागुनमा पश्चिम एसियामा सुरु भएको द्वन्द्वका कारण ग्यास आपूर्तिमा समस्या देखिएपछि नेपालमा ग्यास अभाव सुरु भएको थियो। त्यसपछि सरकारले फागुनको अन्तिम सातादेखि उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास वितरण गर्ने निर्णय गरेको थियो।
आपूर्ति अवस्था केही सहज भएपछि नेपाल आयल निगमले गत ३१ असारदेखि पूर्ण क्षमतामा अर्थात् भरी सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरेको थियो। तर पूर्ण सिलिन्डर वितरण सुरु भएको केही समयमै बजारमा पुनः ग्यास अभाव देखिन थालेको हो।
ग्यास लिन घण्टौं लाइन
ग्यास अभाव बढेसँगै पछिल्लो समय विभिन्न स्थानमा उपभोक्ता ग्यास लिन लामो लाइन बस्न बाध्य भएका छन्। विशेषगरी निगमले तोकेको टेकुस्थित कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनुपर्ने अवस्था देखिएको छ।
बजारमा नियमित रूपमा ग्यास उपलब्ध हुन नसकेपछि उपभोक्तामा थप समस्या देखिएको छ। कतिपय उपभोक्ता ग्यास पाइने आशामा बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्था रहेको बताउँछन्।
‘अनावश्यक सञ्चिति नगर्नुस्’ भन्दै आग्रह
ग्यास अभाव बढेपछि उद्योग मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा विक्रेताहरूले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चिति नगर्न आग्रह गर्दै आएका छन्।
उनीहरूका अनुसार केही उपभोक्ताले अभाव हुने आशंकामा अतिरिक्त सिलिन्डर भण्डारण गर्दा बजारमा माग अस्वाभाविक रूपमा बढ्ने र त्यसको असर आपूर्तिमा पर्ने गरेको छ।
सरकारी निकाय तथा व्यवसायीको यस्तो दाबीप्रति भने उपभोक्ताले प्रश्न उठाउँदै आएका छन्। नियमित आयात भइरहेको अवस्थामा पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन नसक्नुको वास्तविक कारण सरकारले स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ।
मुख्य सचिवले समेत गरे छलफल
ग्यासको अभाव लामो समयसम्म कायम रहेपछि मुख्य सचिव गोविन्द कार्कीले नेपाल आयल निगमसहित ग्यास उद्योगीहरूसँग बैठकसमेत गरेका छन्।
बैठकमा बजारमा ग्यासको आपूर्ति सहज बनाउने, वितरण प्रणालीलाई प्रभावकारी बनाउने तथा उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण तयार गर्ने विषयमा छलफल भएको थियो।
तर सरकारी तहमा पटक–पटक छलफल तथा बजार व्यवस्थापनका लागि पहल भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था अझै पूर्ण रूपमा सुधार हुन सकेको छैन।
नेपाल आयल निगमले भने बजारमा ग्यासको आपूर्ति सहज बनाउन पहल भइरहेको जनाउँदै आएको छ। साथै निगमले उपभोक्तालाई पुनः अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न आग्रह गर्दै आएको छ।
आयात नियमित हुँदाहुँदै पनि बजारमा अभाव देखिन थालेपछि अहिले मुख्य प्रश्न आपूर्तिभन्दा पनि वितरण प्रणाली, बजार व्यवस्थापन र वास्तविक मागको सही आकलनतर्फ केन्द्रित भएको छ।
