Popular Posts

प्रधानमन्त्री शाहको पहिलो एक्लाएक्लै राजदूत भेटवार्ता, भारतीय राजदूतसँग के भयो छलफल?

सरकार गठनको चार महिनापछि विदेशी राजदूतसँग प्रधानमन्त्रीको व्यक्तिगत भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने आफ्नो पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार गठन भएको करिब चार महिनापछि भारतीय राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले पनि नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए। साथै दुवै देशको साझा हित हुने क्षेत्रमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा उनले राखेका थिए।

भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ।

चिनियाँ राजदूतसँग पनि भेट हुँदै

प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन्।

भारतीय राजदूतसँगको भेटपछि प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग समेत भेटवार्ता गर्न लागेकाले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धलाई सरकारले समान प्राथमिकताका साथ अघि बढाउन खोजेको संकेतका रूपमा यसलाई हेरिएको छ।

प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको चार महिनापछि विदेशी राजदूतहरूसँग प्रत्यक्ष भेटवार्ता सुरु हुनुलाई सरकारको कूटनीतिक सक्रियताका रूपमा समेत विश्लेषण गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *