Popular Posts

मातृभाषामा हुने पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण आधार : मन्त्री गौतम

‘राज्य र नागरिकबीचको सूचनाको दूरी मेटाउन मातृभाषाका पत्रकारको भूमिका महत्वपूर्ण’

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण तथा नागरिकलाई सुसूचित बनाउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

काठमाडौंमा सोमबार आयोजित **‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’**लाई सम्बोधन गर्दै मन्त्री गौतमले राज्यका गतिविधि र सार्वजनिक सूचनामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न मातृभाषाको पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताइन्।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता, संस्कृति तथा मौलिक पहिचानको संरक्षणमा आदिवासी समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

उनले राज्यका कामकारबाही तथा सार्वजनिक सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको बताइन्। मातृभाषामा सूचना प्रवाह हुन सके राज्य र नागरिकबीचको दूरी कम हुने उनको भनाइ थियो।

‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ।’

मन्त्री गौतमले राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेको उल्लेख गरिन्। विशेषगरी विभिन्न समुदायले बोल्ने मातृभाषामा समाचार तथा सूचनाको पहुँच विस्तार गर्न सके लोकतन्त्र अझ समावेशी र प्रभावकारी बन्ने उनको भनाइ थियो।

उनले मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यका गतिविधि तथा निर्णयबारे जानकारी पाउनुपर्ने बताइन्। नागरिकले आफूले सहज रूपमा बुझ्ने भाषामा सूचना प्राप्त गर्न पाउनु उनीहरूको अधिकारसँग पनि जोडिएको विषय भएको मन्त्री गौतमले उल्लेख गरिन्।

मातृभाषाका पत्रकारका समस्या समाधान गर्न सरकार सकारात्मक

मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूले विभिन्न समस्या तथा चुनौती सामना गरिरहेकोप्रति सरकार सकारात्मक रहेको बताइन्।

मातृभाषाको पत्रकारितालाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन आवश्यक नीतिगत तथा संस्थागत सुधारका लागि पत्रकारिता क्षेत्रबाट ठोस सुझाव आवश्यक रहेको उनले बताइन्।

उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामबारे ठोस प्रस्ताव तथा बुँदागत सुझाव सरकारसमक्ष प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरिन्।

नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण लोकतान्त्रिक राज्यको महत्वपूर्ण जिम्मेवारी भएको कार्यक्रममा सहभागी वक्ताहरूले समेत बताएका थिए।

मातृभाषामा सञ्चार सामग्रीको विस्तारले स्थानीय समुदायलाई राज्यसँग जोड्नुका साथै भाषा, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *