कमला पुल निर्माणमा ढिलाइ, सिरहा–धनुषावासीमा बढ्दो आक्रोश

सिरहा । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित कमला पुल वर्षौंदेखि अधुरै रहँदा सिरहा र धनुषाका बासिन्दामा सरकारप्रति असन्तोष बढ्दै गएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा समेत पुल निर्माणका लागि स्पष्ट र पर्याप्त बजेट विनियोजन नभएको भन्दै स्थानीयवासी निराश बनेका छन्।

करिब डेढ दशकअघि सुरु गरिएको पुल निर्माण कार्य विभिन्न प्रशासनिक, प्राविधिक तथा ठेक्कासम्बन्धी समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। पछिल्ला वर्षहरूमा आएको बाढीले पुलको संरचनामा क्षति पुर्‍याएपछि निर्माण कार्य झन् सुस्त बनेको स्थानीयहरूको गुनासो छ। हाल सीमित मर्मत तथा अस्थायी व्यवस्थाको भरमा आवतजावत सञ्चालन भइरहेको छ।

स्थानीयवासीका अनुसार पुल निर्माण सम्पन्न नहुँदा सिरहा र धनुषाका हजारौं नागरिकले दैनिक रूपमा कठिनाइ भोग्न बाध्य छन्। पुल सञ्चालनमा आएको भए सिरहाबाट धनुषा पुग्न करिब ३० मिनेट मात्र लाग्ने थियो। तर हाल वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा यात्रुले दुईदेखि तीन घण्टासम्म समय खर्च गर्नुपर्ने अवस्था रहेको छ।

धनुषाका स्थानीय रामबाबु साहले लामो समयदेखि पुल निर्माणको आश्वासन मात्र सुनिएको तर उल्लेखनीय प्रगति नदेखिएको बताए। उनका अनुसार केही महिनाअघि पुल नजिक निर्माण गरिएको डाइभर्सनसमेत बाढीले बगाएपछि आवागमन थप जोखिमपूर्ण बनेको छ।

“पानी कम भएका बेला त जोखिम मोलेर नदी पार गर्न सकिन्छ, तर बाढी आएका बेला ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था हुन्छ,” उनले भने। बाढीका समयमा सवारीसाधन नदीमा फस्ने, बग्ने तथा यात्रुहरू जोखिममा पर्ने घटनाहरू विगतमा पटक–पटक दोहोरिएको उनको भनाइ छ।

स्थानीय व्यवसायी, विद्यार्थी, किसान तथा सर्वसाधारणले पुल निर्माणमा भएको ढिलाइका कारण आर्थिक, सामाजिक र शैक्षिक गतिविधिमा समेत प्रतिकूल असर परेको बताएका छन्। उनीहरूले सरकारले कमला पुललाई प्राथमिकतामा राखी निर्माण कार्य छिटो सम्पन्न गर्न आवश्यक बजेट र प्रभावकारी कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन्।

कमला पुल निर्माण सम्पन्न भए सिरहा र धनुषाबीचको आवागमन सहज हुनुका साथै हुलाकी राजमार्गको प्रभावकारिता बढ्ने, व्यापारिक गतिविधि विस्तार हुने तथा मधेश क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। तर वर्षौंदेखिको ढिलासुस्तीका कारण स्थानीयवासीमा निराशा र आक्रोश बढ्दै गएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *