पोखरा । तीनै तहका सरकार प्रमुखको उपस्थितिमा ४ चैत २०८० मा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठ्न थालेका छन्। घोषणा भएको डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि पर्यटकीय राजधानीको अवधारणालाई संस्थागत गर्ने, पर्यटक आकर्षित गर्ने तथा यसको उपलब्धि मापन गर्ने ठोस कार्यक्रम देखिएको छैन।
पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि त्यसपछि कति पर्यटक भित्रिए, पर्यटन प्रवर्द्धनका लागि कस्ता गतिविधि सञ्चालन भए, नयाँ पर्यटकीय गन्तव्यहरूको विकास कसरी गरियो भन्ने विषयमा स्पष्ट योजना र तथ्यांक सार्वजनिक गरिएको छैन। पर्यटकीय राजधानीको हैसियतलाई व्यवहारमा उतार्न आवश्यक संरचना, कार्यक्रम तथा दीर्घकालीन रणनीति अभाव देखिएको उनीहरूको भनाइ छ।
यता गण्डकी प्रदेश सरकारले भने आगामी पाँच वर्षभित्र भारत र चीनबाट आउने पर्यटकको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। तर प्रदेशभित्र वार्षिक रूपमा कति विदेशी पर्यटक भित्रिन्छन् भन्ने यकिन तथ्यांकसमेत व्यवस्थित रूपमा राख्न नसकेको अवस्थामा यस्तो लक्ष्यलाई कतिपयले प्रचारमुखी कार्यक्रमका रूपमा टिप्पणी गरेका छन्।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानीका रूपमा कार्यान्वयन गर्ने विषय समेटिएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त अवधारणालाई थप विस्तार गर्दै पोखराको ब्रान्डिङ, ल्यान्डमार्क परियोजनाको विकास तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसारलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।
प्रदेश सरकारले विशेषगरी भारत र चीनलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्ने तथा पाँच वर्षभित्र ती दुई मुलुकबाट आउने पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य तय गरेको जनाएको छ। यसका लागि अन्तर्राष्ट्रिय बजारमा पोखराको पहिचान स्थापित गर्ने, पूर्वाधार विकास गर्ने तथा नयाँ पर्यटकीय उत्पादनहरू प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।
यद्यपि पर्यटन व्यवसायीहरूले लक्ष्य घोषणा मात्र पर्याप्त नहुने भन्दै त्यसको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, विश्वसनीय तथ्यांक प्रणाली तथा अन्तर्राष्ट्रिय स्तरको प्रचार अभियान आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार पोखरालाई वास्तविक अर्थमा पर्यटकीय राजधानी बनाउने हो भने घोषणा भन्दा बढी परिणाममुखी कार्यक्रम आवश्यक छ।
प्राकृतिक सौन्दर्य, हिमश्रृंखलाको दृश्य, तालतलैया, साहसिक पर्यटन तथा सांस्कृतिक विविधताले सम्पन्न पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। तर पर्यटकीय राजधानीको घोषणालाई सार्थक बनाउन सरकारी प्रतिबद्धता, निजी क्षेत्रको सहकार्य र दीर्घकालीन पर्यटन रणनीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ।