समाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा १८१ कन्टेन्ट क्रिएटरविरुद्ध कारबाहीको तयारी

काठमाडौँ – निर्वाचनको वातावरणलाई प्रभावित पार्ने खालका मिथ्या, भ्रमपूर्ण तथा हानिकारक सामग्री उत्पादन र प्रसार गरेको आरोपमा १८१ जना कन्टेन्ट क्रिएटरविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।
निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्रीहरू सार्वजनिक भएको पाइएपछि सम्बन्धित व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको हो।
आयोगले यस्ता सामग्रीहरूले मतदातालाई भ्रममा पार्ने, निर्वाचनको निष्पक्षता प्रभावित गर्ने र सामाजिक सद्भाव बिगार्ने जोखिम बढाएको निष्कर्ष निकालेको छ। त्यसैअनुसार आयोगले साइबर ब्युरो, दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिल नेपालसँग समन्वय गर्दै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


आयोगका अनुसार केही कन्टेन्ट क्रिएटरहरूले लोकप्रियता र आम्दानीको लालसामा तथ्यहीन तथा उत्तेजक सामग्री उत्पादन गरेको पाइएको छ। यस्तो प्रवृत्तिले निर्वाचन प्रणालीप्रति जनविश्वास कमजोर पार्न सक्ने भएकाले कडाइका साथ निगरानी र कारबाही आवश्यक भएको आयोगको भनाइ छ।
दोष पुष्टि भएमा सम्बन्धित व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार दण्ड, जरिवाना तथा प्रतिबन्धसम्मको कारबाही हुन सक्ने बताइएको छ। साथै, आगामी दिनमा पनि सामाजिक सञ्जालमा फैलिने सामग्रीमाथि निरन्तर अनुगमन र निगरानी जारी रहने आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आयोगले आम नागरिक, सञ्चारकर्मी र डिजिटल सामग्री निर्मातालाई जिम्मेवार, तथ्यपरक र मर्यादित सूचना प्रवाह गर्न आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *