वीरगन्ज
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित अवैध गोदाममा छापा मार्न गएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ।
वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार वीरगन्ज महानगरपालिका–आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गरेको थियो। आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा समेत क्षति पुगेको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार घटनास्थल तथा वरपर जडान गरिएका सिसिटिभी क्यामेराको फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ।

“सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका विषयमा विस्तृत अनुसन्धान जारी रहेकाले हाल संलग्नहरूको नाम सार्वजनिक गरिएको छैन,” बस्नेतले भने, “अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।”
घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवैध कारोबारसँग सम्बन्धित थप तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ ।