रौतहटमा सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय


गौर ।

गौरमा दुई समुदायबीच उत्पन्न तनावपछि सम्पन्न सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ। बैठक प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आह्वानमा बसेको थियो।
बैठकले आगामी सोमबार बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको जनाएको छ। हालै गौर नगरपालिका–६स्थित सबगढा क्षेत्रमा सुरु भएको विवादका कारण स्थानीयस्तरमा देखिएको तनावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
बैठकले घटनाप्रति खेद व्यक्त गर्दै शान्ति र सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सर्वसाधारणलाई संयमित भूमिका निर्वाह गर्न अपिल गरेको छ। साथै, स्थानीय भद्रभलादमीहरूको सहभागितामा औपचारिक तथा अनौपचारिक संवादमार्फत विवाद समाधानको पहल गर्ने सहमति पनि भएको छ।


त्यसैगरी, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएर धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमाथि निगरानी बढाउने र आवश्यक परे कानुनी कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ।
प्रशासनले अफवाहमा विश्वास नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न सबैमा आग्रह गरेको छ। सद्भाव र्‍यालीमार्फत सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी विश्वास सुदृढ बनाउने सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *