‘दिल्ली चुनावमा विकास र सुशासनले जीतेको छ’- मोदी

Share on Social Media

ललित झा

नयाँ दिल्ली, माघ २७ गते – भारतीय जनता पार्टी (भाजपा) ले दिल्ली विधानसभाको चुनावमा २७ वर्षपछि ऐतिहासिक जित हासिल गरेको छ। यो जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीका जनतालाई आभार व्यक्त गर्दै समृद्ध दिल्ली र विकसित भारत निर्माणको प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् भने, “जनशक्ति सर्वोपरि! विकास जीतेको छ, सुशासन जीतेको छ। दिल्लीका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई भाजपा लाई ऐतिहासिक जित दिलाएकोमा हार्दिक धन्यवाद। तपाईंहरूले देखाएको विश्वासका लागि म हृदयदेखि आभारी छु।”

भाजपाले ७० सिटमध्ये ४८ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ भने विपक्षी आम आदमी पार्टी (आप) ले २२ सिटमा जित दर्ता गरेको छ। २७ वर्षपछि भाजपाले दिल्लीमा सरकार बनाउन लागेको हो।

विकसित भारतको निर्माणमा दिल्लीको योगदान

प्रधानमन्त्री मोदीले विकास र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, “दिल्लीको चौतर्फी विकासका लागि हामी कुनै पनि कमी राख्ने छैनौं। यो हाम्रो ग्यारेन्टी हो। साथै, विकसित भारत निर्माणमा दिल्लीको महत्त्वपूर्ण भूमिका हुनेछ।”

मोदीले भाजपाका कार्यकर्ताहरूको मेहनतको पनि प्रशंसा गर्दै भने, “म हाम्रो सम्पूर्ण कार्यकर्ताहरूलाई धन्यवाद दिन चाहन्छु, जसले रातदिन परिश्रम गरेर यो प्रचण्ड जनादेश दिलाएका छन्। अब हामी अझ बढी जोशका साथ दिल्लीवासीहरूको सेवामा समर्पित रहनेछौं।”

भाजपाको जितले नयाँ राजनीतिक समीकरण

भाजपाको जितसँगै दिल्लीको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको छ। विगत केही वर्षयता आम आदमी पार्टीले दिल्लीमा सरकार चलाइरहेकामा यसपटक भाजपाले पुनः सत्ता फर्काएको छ।

नयाँ सरकार, नयाँ आशा

भाजपाको नेतृत्वमा बन्ने नयाँ सरकारले दिल्लीमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा तथा सुशासनका क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाएको छ। अब नयाँ दिल्लीमा के परिवर्तन आउँछ भन्ने चासो सर्वसाधारणमा बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *