गौर तनावपछि एआईजी चतुर्वेदीको टोली मधेशमा


गौर ।

रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न तनावपछि सुरक्षा अवस्था सुदृढ बनाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदीको नेतृत्वमा विशेष टोली मधेश प्रदेश पुगेको छ।
केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार चतुर्वेदीलाई मधेश प्रदेशको समग्र सुरक्षा अवस्थाको समीक्षा, विश्लेषण तथा आवश्यक निर्देशन दिने जिम्मेवारी दिइएको हो। टोलीले प्रदेश प्रहरी कार्यालयसँग समन्वय गर्दै घटनास्थलको अवस्थाबारे जानकारी लिने, सुरक्षा रणनीति सुदृढ गर्ने तथा स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिने काम सुरु गरेको छ।


गौरमा विवाह जुलुसका क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि ढुंगामुढा र आगजनीसमेत भएको थियो। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। हाल अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
एआईजी चतुर्वेदी यसअघि मधेश प्रदेश प्रहरी कार्यालयमा डीआईजीका रूपमा कार्यरत रहिसकेका छन्। क्षेत्रको भौगोलिक र सामाजिक अवस्थाबारे अनुभव भएकाले शान्ति–सुरक्षा कायम गर्न उनको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रहरी टोलीले स्थानीय सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि तथा समुदायका अगुवासँग पनि छलफल गर्ने तयारी गरेको छ। आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस भनेर सुरक्षा सतर्कता थप कडा पारिएको जनाइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *