गौरमा उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक

गौरमा उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा आइतबार सर्वपक्षीय बैठक बसेको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा नागरिक समाजका अगुवाहरू सहभागी भएका छन्।
जिल्ला प्रशासनका अनुसार पछिल्ला दिनमा बढेको विवाद र झडपपछि शान्ति–सुरक्षा अवस्था सामान्य बनाउने उद्देश्यले बैठक आह्वान गरिएको हो। प्रमुख जिल्ला अधिकारीले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न साझा पहल आवश्यक रहेको बताएका छन्।
गौर–६ स्थित सबगढा क्षेत्रमा जन्तीमा चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो। उक्त विवादले झडपको रूप लिँदा केही सवारीसाधनमा तोडफोड र आगजनीसमेत भएको बताइएको छ। त्यसपछि स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।


कर्फ्युका कारण बजार क्षेत्र सुनसान देखिएको छ भने सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका जवानहरू परिचालन गरिएका छन्।
सर्वपक्षीय बैठकबाट तत्काल शान्ति बहाली, क्षतिको विवरण संकलन, दोषीमाथि कारबाही र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन उपायबारे सहमति जुटाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *