Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

इरान युद्धको बीच IEA ले ४०० मिलियन ब्यारेल तेल भण्डार सार्वजनिक गर्ने निर्णय


विश्वव्यापी ऊर्जा बजारमा बढ्दो अस्थिरता र मूल्यवृद्धिलाई नियन्त्रण गर्न International Energy Agency (IEA) ले आफ्ना सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारबाट ४०० मिलियन ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ। यो निर्णय संयुक्त राज्य अमेरिका र इजरायल सम्मिलित युद्धका कारण इरान सँग उत्पन्न भएको तनावबीच विश्व बजारमा बढिरहेको तेलको मूल्यलाई स्थिर बनाउनका लागि गरिएको हो।
यो प्रस्तावित तेल आपूर्ति सन् २०२२ मा IEA सदस्य राष्ट्रहरूले बजार स्थिर बनाउन जारी गरेको १८२ मिलियन ब्यारेल तेल भन्दा निकै ठूलो हो। उक्त कदम त्यतिबेला रूस ले युक्रेन माथि पूर्ण आक्रमण गरेपछि चालिएको थियो।
IEA का कार्यकारी निर्देशक फातिह बिरोल ले हालको तेल बजारको चुनौतीलाई “अभूतपूर्व स्तरको” भन्दै सदस्य राष्ट्रहरूले आपतकालीन रूपमा ठूलो सामूहिक कदम चालेको बताएका छन्।


उनका अनुसार मध्यपूर्व क्षेत्रमा ऊर्जा तथा ऊर्जा–सम्बन्धी पूर्वाधारमा भएका आक्रमणहरूले तेल उत्पादन र प्रशोधन प्रक्रियामा असर पारेको छ। निर्यातका पर्याप्त मार्ग र भण्डारण अभावका कारण केही तेल उत्पादक देशहरूले उत्पादन घटाउन थालेका छन्।
रिफाइनरी सञ्चालन प्रभावित हुँदा जेट इन्धन र डिजेल आपूर्ति मा समेत असर परेको छ, जसले अन्तर्राष्ट्रिय यातायात र व्यापारमा गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
IEA सदस्य राष्ट्रहरूसँग हाल १.२ अर्ब ब्यारेलभन्दा बढी आपतकालीन तेल भण्डार रहेको छ भने सरकारी व्यवस्थाअन्तर्गत उद्योग क्षेत्रसँग थप ६०० मिलियन ब्यारेल तेल भण्डार सुरक्षित रहेको बताइएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि इरानले महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्य हुँदै जाने जहाजहरूलाई आक्रमण गर्ने चेतावनी दिँदै उक्त मार्गलाई प्रभावकारी रूपमा अवरुद्ध बनाएको छ। यो जलमार्गबाट विश्वको करिब पाँचौं भाग (लगभग २० प्रतिशत) तेल र ग्यास आपूर्ति ओसारपसार हुने गर्दछ।
विशेषज्ञहरूले होर्मुज जलडमरूमध्यमा तनाव जारी रहे विश्व ऊर्जा बजार थप अस्थिर हुन सक्ने र तेलको मूल्य अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!