सिरहा ।
प्रतिनिधिसभा निर्वाचनको अघिल्लो राति, २० फागुनमा कुवेतबाट रमेशकुमार मोचीले श्रीमती प्रमिलाकुमारी रामलाई फोन गरेका थिए। २२ महिनाअघि कुवेत गएपछि जन्मिएको डेढ वर्षका छोरा आर्यनलाई भेट्न वैशाखमा बिदा लिएर घर आउने खबर उनले सुनाएका थिए। साथै देशको भविष्यबारे पनि परिवारसँग कुरा गरेका थिए।
‘चुनावमा राम्रो मान्छे र युवालाई भोट हाल्नुपर्छ, यो चुनावपछि देश बदलिन्छ,’ उनले फोनमा भनेका थिए। तर देश बदलिनुअघि नै भोलिपल्ट निर्वाचनकै दिन उनको मृत्युको खबर घरमै आइपुग्यो।
सिरहाका ३५ वर्षीय रमेशले वैदेशिक रोजगारीमा १६ वर्ष बिताएका थिए। १७ वर्षकै उमेरमा उमेर बढाएर पहिलो पटक कुवेत गएका उनी त्यसपछि विभिन्न देशमा काम गर्दै आएका थिए। कुवेतमा ८ वर्ष काम गरेर फर्किएका उनले मलेसियामा दुई वर्ष, कतारमा दुई वर्ष र साउदी अरबमा दुई वर्ष काम गरेका थिए। पछिल्लो पटक कुवेतमा काम गर्न थालेको २२ महिना पुगेको थियो।
प्रमिलाका अनुसार निर्वाचनको दिन बिहान साढे ७ बजे सासू–ससुरासहित छिमेकी गाउँ मोहनपुरस्थित सामुदायिक विद्यालयको मतदान केन्द्रमा भोट हाल्न गएका थिए। भोट हालेर दिउँसो २ बजे घर फर्किएका उनी भाँडा माझिरहेकी थिइन्। त्यत्तिकैमा आफन्त राहुल श्रीमान्को मृत्यु भएको खबर लिएर आँगनमा आइपुगे।
‘सुन्नेबित्तिकै भुइँमै ढल्छु जस्तो भयो, होइन कि जस्तो पनि लाग्यो। आफूलाई सम्हालेर राहुलकै मोबाइलबाट उनको मामासँग कुरा गरेँ,’ प्रमिलाले बताइन् ।
