थापाको राजीनामा अस्वीकृत हुने संकेत


काठमाडौँ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार उपसभापति शर्मालाई राजीनामा बुझाएका थिए।
पार्टी विधानअनुसार सभापतिले आफ्नो राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारदेखि सुरु हुँदै छ र बैठकको सुरुमै सभापति थापाको राजीनामा पत्रमाथि छलफल हुने बताइएको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ प्रस्तुत गर्ने तयारी भइरहेको छ। पार्टीभित्र अधिकांश नेताहरू थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको जनाइएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरू समावेश छैनन्। केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले भने केही दिनअघिदेखि नै थापालाई राजीनामा नदिन आग्रह गर्दै आएका थिए।
बैठकपछि सभापति थापाको राजीनामा अस्वीकृत हुने सम्भावना बलियो रहेको एक पदाधिकारीले बताएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *