काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी भर्ना गर्ने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार प्रशासन तथा प्राविधिक दुवै समूहमा कर्मचारी माग गरिएको छ। प्रशासनतर्फ प्रबन्धक पदमा एक जना महिला उम्मेदवार र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट एक जना कर्मचारी नियुक्त गरिने उल्लेख गरिएको छ।
त्यस्तै उपप्रबन्धक पदमा प्रशासनतर्फ एक जना र प्राविधिकतर्फ दुई जना कर्मचारी माग गरिएको छ। वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा पनि विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ।
दरखास्त दिने अन्तिम मिति चैत २६ गतेसम्म तोकिएको छ। त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म पनि आवेदन दिन सकिनेछ। तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रुपैयाँ, तह ७ र ६ का लागि १२ सय रुपैयाँ तथा तह ५ र ४ का लागि ६ सय रुपैयाँ तोकिएको छ।
प्राधिकरणले थप समूहमा आवेदन दिने उम्मेदवारले सम्बन्धित तहका लागि तोकिएको दस्तुरमा ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्ने जनाएको छ।