काठमाडौं ।
देशका विभिन्न प्रदेशमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको हो। आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ।
मौसमविद्का अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस कारण अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रामा ननिस्कन विभागले आग्रह गरेको छ।