काठमाडौं ।
अन्तर्राष्ट्रिय कर छलीविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पसेस’ (ग्लोबल फोरम)को १७३औँ सदस्य बनेको छ। यससँगै नेपाल यो सञ्जालमा आबद्ध हुने २४औँ एसियाली राष्ट्र पनि बनेको छ।
ग्लोबल फोरमका अध्यक्ष गेल पेराउडले नेपाललाई स्वागत गर्दै नेपालको यो निर्णयले कर छलीविरुद्ध विश्वव्यापी रूपमा बढ्दै गएको प्रतिबद्धतालाई थप बलियो बनाउने बताएका छन्। उनका अनुसार नेपालको सदस्यताले करसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनेछ।
नेपालले सदस्य बनेसँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कर छली नियन्त्रणका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। यस अन्तर्गत करसम्बन्धी सूचना आदान–प्रदान, वित्तीय खाता र क्रिप्टो–सम्पत्तिसम्बन्धी जानकारीहरू स्वचालित रूपमा उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्नेछ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यो सदस्यतालाई नेपालको कर प्रशासन सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आन्तरिक स्रोत परिचालनका लागि महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। उनले ग्लोबल फोरममार्फत नेपालले अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक सहयोगबाट लाभ उठाउने बताएका छन्।
नयाँ सदस्यका रूपमा नेपालले क्षमता अभिवृद्धि कार्यक्रमबाट पनि लाभ उठाउनेछ। यस कार्यक्रममार्फत अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन र सीमापार कर सूचना आदान–प्रदान प्रणालीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
ग्लोबल फोरममा जी–२० राष्ट्र, ओईसीडी सदस्य राष्ट्रहरू र विश्वका प्रमुख वित्तीय केन्द्रहरू सहित ठूलो संख्यामा विकासोन्मुख देशहरू सहभागी रहेका छन्।