नागढुंगा सुरुङमार्ग ठेक्का चीनसँगको जोइन्ट भेञ्चरलाई लाग्ने सम्भावना प्रबल


काठमाडौँ — जापानले चिनियाँ कम्पनीलाई नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का नदिन लबिङ गरिरहेको चर्चा चले पनि, चिनियाँ कम्पनीसहितको संयुक्त उपक्रम (जोइन्ट भेञ्चर)ले ठेक्का पाउने सम्भावना प्रबल भएको छ।
आगामी वैशाखदेखि सुरुङमार्ग सञ्चालन गर्ने तयारी अनुसार सरकारले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा १० संयुक्त उपक्रम कम्पनीले भाग लिएका थिए, जसमा ६ ओटा चिनियाँ कम्पनी साझेदार भएका थिए। अन्तिम प्राविधिक मूल्यांकनपछि ७ ओटा कम्पनी छनोट भएका थिए। तीमध्ये चीनको छोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कं. लि र र्याङकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कं. लि को संयुक्त उपक्रमले अनुमानित लागतको ४० प्रतिशत कम मूल्य कबूल गरेको सडक विभागका एक उच्च अधिकारीले बताएका छन्।
कानुनअनुसार सबैभन्दा न्यून मूल्य कबूल गर्ने कम्पनीसँग ठेक्का सम्झौता हुने भएकाले उक्त जोइन्ट भेञ्चरसँग ठेक्का पाउने सम्भावना बढी देखिएको छ। दोस्रो न्यून मूल्य कबूल गर्ने कम्पनीमा नेपालको ब्राइट बुल निर्माण सेवा र चीनको शान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेशन रहेको जोइन्ट भेञ्चर रहेको अधिकारीले जानकारी दिए।
हाल विभाग आर्थिक प्रस्ताव मूल्यांकनको चरणमा रहेको र आइतवार वा सोमवारसम्म ठेक्का सम्झौताको लागि छनोट हुने कम्पनीलाई आह्वान गरिने सम्भावना रहेको छ। परियोजना प्रमुखले निर्णय नेपालको सार्वजनिक खरीद ऐनअनुसार हुने बताएका छन्।


सुरुङमार्ग सञ्चालनका लागि नेपाली कम्पनीसँग पर्याप्त अनुभव नभएपछि विदेशी कम्पनीसँग जेभीमा सहभागिता खोजिएको हो। जापानी सहयोगीहरूले बोलपत्रमा चिनियाँ कम्पनी नहुने शर्त राखेका थिए भने, सरकारले ऐनअनुसार कुनै पनि देशको कम्पनीलाई बोलपत्रमा भाग लिन अनुमति दिएको थियो।
नेपालका निर्माण परियोजनाहरूमा भूराजनीतिक चासो रहँदै आएको छ। उदाहरणका लागि, चीनले बनाइदिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले आफ्ना उडान रोक्का गरेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *