जनकपुरधाम।
जेन्जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्की ले तोकिएको समयमै आम निर्वाचन सम्पन्न गराएपछि धार्मिक तथा व्यक्तिगत यात्राका रूपमा जनकपुरधाम पुगेर जानकी मन्दिर मा पूजापाठ तथा दर्शन गरेकी छन्।
निर्वाचन तोकिएको समयमा गराउन सक्छिन् कि सक्दिनन् भन्ने विषयमा केही महिनायता देशभरि व्यापक चर्चा भइरहेका बेला उनले अन्ततः ६ महिनाभित्रै निर्वाचन सम्पन्न गराउन सफल भएकी हुन्। निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री कार्कीले जनकपुरधाम पुगेर धार्मिक आस्था व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्की बिहान साढे ११ बजे जानकी मन्दिरमा पुगेकी थिइन्। मन्दिर परिसरमा पूजापाठ तथा दर्शन गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो यात्रा राजनीतिक नभई व्यक्तिगत तथा धार्मिक आस्थासँग जोडिएको बताएकी छन्। “यो मेरो निजी तथा धार्मिक यात्रा हो, यसलाई राजनीतिक रूपमा नहेर्नुहोस्,” उनले भनिन्। दर्शनपछि उनी सोही दिन काठमाडौँ फर्किएकी छन्।
यसैबीच निर्वाचनपछिको राजनीतिक प्रक्रिया पनि अगाडि बढिसकेको छ। चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ भने चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको छ।

नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन शाह) बन्ने चर्चा तीव्र बनेको छ। बालेन शाहले आफ्नो चुनावी अभियान सुरु गर्नुअघि पनि जनकपुरधामको जानकी मन्दिरमै पूजापाठ गरेका थिए भन्ने कुरा सार्वजनिक भएको छ।
विशेषगरी, उनको शपथ ग्रहण कार्यक्रम राम नवमी का दिन अर्थात् चैत १३ गते नै तय गरिएको छ। संयोगवश परेको भए पनि राम नवमीका दिन प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रमलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूले बालेन शाह प्रधानमन्त्री बनेपछि धार्मिक पर्यटन, सांस्कृतिक सम्पदाको संरक्षण तथा जनकपुरधामजस्ता ऐतिहासिक धार्मिक सहरहरूको विकासमा विशेष प्राथमिकता दिने सम्भावना रहेको बताएका छन्।
जनकपुरधाममा प्रधानमन्त्री सुशीला कार्कीको भ्रमण र आगामी प्रधानमन्त्रीका रूपमा बालेन शाहको नाम चर्चामा आएपछि मधेश क्षेत्रको राजनीतिक तथा धार्मिक महत्त्व फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।