काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा पदभार सम्हाल्न लागेका बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ ।
सरकारले मन्त्रालयको संख्या १५ देखि १८ भित्र कायम गर्ने प्रारम्भिक योजना बनाएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा पनि मन्त्रालयको संख्या अधिकतम १८ भन्दा बढी नबढाउने प्रतिबद्धता उल्लेख छ । त्यसअनुसार हाल सञ्चालनमा रहेका मन्त्रालयमध्ये कम्तीमा पाँच वटा मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने योजना बनाइएको स्रोतको दाबी छ ।
अब बन्ने सरकारको संरचना तयार पार्ने काममा बालेनको सचिवालय सक्रिय रहेको छ । सचिवालय निकट स्रोतका अनुसार मन्त्रालयको संख्या सकेसम्म कम राख्दै प्रभावकारी र चुस्त प्रशासन बनाउने लक्ष्यसहित गृहकार्य भइरहेको हो ।
यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आवश्यक सहजताका लागि केही पुराना प्रतिवेदन र सम्बन्धित कागजात बालेनको टिमलाई उपलब्ध गराइसकेको छ । ती कागजातका आधारमा बालेन र रास्वपाका सीमित नेताहरूको टोलीले मन्त्रालय संरचना पुनर्गठन सम्बन्धी गृहकार्य गरिरहेको बताइएको छ ।
नयाँ सरकारमा १५ देखि १८ मन्त्रालय हुने