वरिष्ठता तोड्दै प्रधान न्यायाधीश नियुक्तका लागि सिफारिस भएपछि न्यायाधीशहरू पनि आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालत मा आज पेसी तोक्ने कार्यमा असामान्य ढिलाइ भएको छ । सामान्यतः बिहान साढे ९ बजेतिर इजलासका लागि गोला तानिने भए पनि आज बिहान ११ बजेसम्म पनि पेसी निर्धारण हुन सकेको छैन ।

स्रोतका अनुसार बिहीबार संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयतामा रहेका न्यायाधीश मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतभित्र न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

न्यायिक वृत्तमा उक्त सिफारिसलाई लिएर तीव्र बहस भइरहेको छ । वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने स्थापित अभ्यास विपरीत निर्णय भएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् ।

सर्वोच्च अदालतको नियमित कार्यसूचीमै असर पर्ने गरी पेसी निर्धारणमा भएको ढिलाइलाई न्यायपालिकाभित्र देखिएको असहज अवस्थासँग जोडेर हेरिएको छ । न्यायाधीशहरूको छलफलपछि मात्र आजको इजलास व्यवस्थापन अघि बढ्ने सम्भावना रहेको बताइएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *