“स्वच्छ कार्यालय, स्वस्थ कर्मचारी, समृद्ध राष्ट्र हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित सबैलामा राष्ट्रिय सरसफाई २०८३ मनाइयो

जनकपुरधाम, जेठ ७ गते। सबैला नगरपालिकामा राष्ट्रिय सरसफाई सप्ताह २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । “स्वच्छ कार्यालय, स्वस्थ कर्मचारी, समृद्ध राष्ट्र हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित नगरपालिकाका विभिन्न कार्यालय तथा कार्यालय परिसरमा सरसफाई गरिएको हो ।

यसअन्तर्गत सबैला नगरपालिका–९ स्थित स्वास्थ्यचौकी कार्यालय तथा आसपासका क्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिएको थियो । वडा नं. ९ र स्वास्थ्यचौकीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मनिष कुमार राय, स्वास्थ्यचौकी प्रमुख रामकिशोर राय, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, किशोरी समूहका सदस्य, जानकी महिला जागरण समाज का कर्मचारी तथा स्थानीय सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रमपछि वडा अध्यक्ष मनिष कुमार रायले सबैला नगरपालिका तथा सतोषरधाम क्षेत्रमा स्वच्छता अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भठियन स्वास्थ्यचौकीको कार्यालय परिसरमा यसै वर्ष माटो पुर्ने तथा सम्याउने, भवन र पर्खाल रंगरोगन गर्ने, आवश्यक मर्मत कार्य गर्ने, खानेपानी सुविधाका लागि प्लम्बिङ तथा धारा निर्माण गर्ने र हात धुने स्टेशन स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सबैला नगरपालिकाको समन्वयमा जानकी महिला जागरण समाज ले सञ्चालन गरिरहेको ‘सशक्त बालिका परियोजना (GSS)’ ले प्रारम्भिक बाल विकास, बाल संरक्षण, खानेपानी तथा सरसफाई र वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *