जनकपुरधाम ।
प्रत्येक वर्ष जुन २१ मा विश्व योग दिवस मनाइन्छ। शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र आध्यात्मिक शान्तिको माध्यमका रूपमा योगले आज विश्वव्यापी मान्यता प्राप्त गरिसकेको छ। केही दशकअघि सीमित भूगोल र संस्कृतिमा अभ्यास हुने योग आज विश्वका अधिकांश देशमा दैनिक जीवनको अभिन्न अंग बन्दै गएको छ। स्वस्थ जीवनशैलीप्रतिको बढ्दो सचेतनासँगै योगप्रतिको आकर्षण पनि निरन्तर बढिरहेको देखिन्छ।
यसै सन्दर्भमा अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले जुन १९ मा जनकपुरधाममा विशेष योग शिविर आयोजना गरेको छ। जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेश सभामुख रामअशिष यादव, जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, जानकी मन्दिरका उत्तराधिकारी महन्त रोशन दास वैष्णवलगायत स्थानीय सुरक्षा निकायका प्रमुख अधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सयौं नागरिकहरूको उपस्थिति रहेको थियो।
योगलाई विश्वव्यापी पहिचान दिलाउन भारतका विभिन्न योग गुरुहरूको महत्वपूर्ण योगदान रहेको मानिन्छ। विशेष गरी श्री श्री रविशंकर, सद्गुरु जग्गी वासुदेव, बाबा रामदेवलगायतका योग अभियन्ताहरूले योगलाई आधुनिक जीवनशैलीसँग जोड्दै विश्व समुदायसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
आज विश्वभरिका मानिसहरूले योगलाई केवल शारीरिक अभ्यासको रूपमा मात्र नभई मानसिक सन्तुलन, आत्मिक शान्ति तथा जीवन व्यवस्थापनको माध्यमका रूपमा ग्रहण गर्न थालेका छन्। नियमित योग अभ्यासले शरीरलाई स्वस्थ राख्ने, मानसिक तनाव कम गर्ने तथा सकारात्मक सोचको विकासमा योगदान पुर्याउने विश्वास गरिन्छ। विश्व समुदायमा बढ्दो हिंसा, तनाव र अशान्तिलाई न्यूनीकरण गर्न पनि योगले सकारात्मक भूमिका खेल्न सक्ने अपेक्षा गरिन्छ।
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले हरेक वर्ष भरतपुर, जनकपुर, वीरगञ्जलगायतका विभिन्न शहरहरूमा योग शिविर आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले योगप्रति जनचेतना बढाउनुका साथै स्वस्थ र अनुशासित समाज निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
योगको विश्वव्यापी विस्तार र जनकपुरमा योग चेतना