१५ असोज, काठमाडौं । लगातारको वर्षापछि आएको बाढीपहिरोले बेँसीसहर–चामे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि मनाङमा औषधी, इन्धन, खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएको छ।
मर्स्याङ्दी, ठाडोखोला र घट्टेखोलामा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण चामे जोड्ने मुख्य सडकका १७ स्थानमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। सडक सञ्चालनमा आउन अझै करिब एक साता लाग्न सक्ने प्रहरीको अनुमान छ।
सडक अवरुद्ध हुँदा जिल्लामा विद्युत् तथा खानेपानी सेवासमेत प्रभावित भएको छ। इन्धन, खाद्यान्न र औषधीको आपूर्ति रोकिएपछि स्थानीयवासीको दैनिक जीवन थप कठिन बनेको छ। बुधबार मात्रै नेपाली सेनाको हेलिकोप्टरमार्फत ४ सय लिटर इन्धन मनाङ पुर्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार मर्स्याङ्दी नदीको बाढीबाट चामे र नासोँ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण मुख्य सडक तथा आधा दर्जनभन्दा बढी पुलमा क्षति पुगेको छ।
नासोँ गाउँपालिका–३ खोत्रो र वडा नम्बर ५ बगरछाप, चामे गाउँपालिका–१ स्यार्पुका दुई स्थान, तिमाङका तीन स्थान, तिल्बिङघट्टाका तीन स्थान, घट्टेखोला र ठाडोखोलालगायतका क्षेत्रमा सडक अवरुद्ध छ। मनाङ ङिस्याङ गाउँपालिका–४ तलेखु तथा वडा नम्बर ५ भार्ताङका चार स्थानमा समेत सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
बाढीका कारण नासोँ गाउँपालिकाको तालगाउँमा १४ वटा घर तथा होटेलमा आंशिक क्षति पुगेको छ। नासोँ–८ र ९ जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने वडा नम्बर ९ मा एउटा पसल र वडा नम्बर ३ खोत्रोमा रहेको विद्यालय भवनमा पहिरोले पूर्ण क्षति पुर्याएको छ।
त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाका १६ घरमा आंशिक क्षति पुगेको छ। बाढीबाट स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, विमानस्थल तथा तीनवटा होटेलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
मनाङका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङका अनुसार चामे बजार क्षेत्रमा घट्टेखोलाबाट आएको बाढीले ठूलो मात्रामा माटो, ढुङ्गा र गेग्रान बगाएर मर्स्याङ्दी नदीमा थुपारेपछि नदीको बहावसमेत प्रभावित भएको छ। उनले अवरुद्ध सडक तथा नदीको बहाव सहज बनाउन राज्यले विशेष संयन्त्र परिचालन गर्नुपर्ने बताएका छन्।
विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाका विभिन्न स्थानका स्थानीयवासीसँग सम्पर्कसमेत कठिन भएको छ। सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटक पनि प्रभावित भएका छन्।
बाढीपहिरोका कारण अलपत्र परेका करिब दुई सय पर्यटकलाई सम्बन्धित ट्रेकिङ एजेन्सीहरूले निजी हेलिकोप्टरमार्फत स्याउबारीबाट उद्धार गरेका छन्। तर अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकलाई सडक अवरोध र नदीको बढेको बहावका कारण आवतजावतमा समस्या भइरहेको बताइएको छ।
