काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यराति निवासबाट लगेर करिब १० घन्टा राखेको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर आपत्ति जनाएको छ।
घटनाबारे विज्ञप्ति जारी गर्नुअघि सर्वोच्च अदालतले मुख्य रजिस्ट्रार र रजिस्ट्रारलाई राणाको निवासमा पठाएर घटनाक्रमबारे जानकारी लिएको थियो। त्यसपछि बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले कानुनी प्रक्रिया पूरा नगरी कसैलाई नियन्त्रणमा राख्ने कार्य स्वीकार्य नहुने जनाएको हो।
सर्वोच्चले कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा ‘स्वेच्छाचारिताको प्रचुरता’ रहने भन्दै त्यस्ता कार्य लोकतान्त्रिक शासन प्रणालीमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
असोज १० गते मध्यराति नेपाल प्रहरीले राणालाई निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको थियो। प्रहरीले भने राणालाई पक्राउ नगरिएको र सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा राखिएको दाबी गर्दै आएको छ।
घटनाका क्रममा राणाको मोबाइल केही समय प्रहरीले नियन्त्रणमा लिएको र पछि फिर्ता गरेको बताइएको छ। प्रहरी कार्यालयमा राणालाई सुरक्षा माग गर्दै निवेदन दिन भनिएको र उनले हस्ताक्षर गर्न नमानेपछि उनका छोरा सचिन्द्रले निवेदनमा हस्ताक्षर गरेको स्रोतको दाबी छ।
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीश र न्यायिक कर्मचारीप्रति राज्यका निकायले संवेदनशील र गम्भीर व्यवहार गर्नुपर्ने जनाएको छ।
सर्वोच्चले न्यायपालिकाको कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
