प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोसः राष्ट्रपति पौडेल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुगोस् भन्ने कामना व्यक्त गरेका छन्।
राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान पुर्‍याउने सबैप्रति सम्मान प्रकट गरेका छन्। उनले प्रजातन्त्र दिवसले सहिदहरूको अमर बलिदान, जनआन्दोलनको मूल्य र नागरिक अधिकारको महत्त्वलाई निरन्तर स्मरण गराउने बताएका छन्।


सन्देशमा राष्ट्रपति पौडेलले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई मुलुकको ठूलो उपलब्धि भन्दै यसको रक्षा, सुदृढीकरण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। लोकतन्त्रले सामाजिक न्याय, समानता, समावेशिता र राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
राष्ट्रपतिले संविधानले निर्देश गरेको न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता व्यवहारमा उतार्न सबै राजनीतिक शक्ति, राज्य संयन्त्र र नागरिकको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
उनले प्रजातन्त्रलाई केवल राजनीतिक प्रणालीका रूपमा मात्र नभई जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। विकास, समृद्धि र सामाजिक सद्भाव कायम गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनु नै प्रजातन्त्र दिवसको सार्थकता भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।
प्रजातन्त्र दिवस प्रत्येक वर्ष फागुन ७ गते निरंकुश शासनको अन्त्य र जनअधिकार स्थापनाको स्मरणमा मनाइन्छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *