Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

जनकपुरको विशाल आमसभाबाट नेपाली कांग्रेसको ‘भिजन १०’ घोषणा


जनकपुरधाम ।

नेपाली कांग्रेस ले सुशासन र समुन्नतिको दीर्घकालीन मार्गचित्रका रूपमा तयार पारेको ‘भिजन १०’ जनकपुरमा आयोजित विशाल आमसभाको बीच सार्वजनिक गरेको छ। मधेसको ऐतिहासिक नगरी जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका सभापति गगन थापा ले “समुन्नत नेपाल, सम्मानित नेपाली” भन्ने मूल ध्येयसहित दस बुँदे प्रतिज्ञापत्र घोषणा गरेका हुन्। उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर आगामी पाँच वर्षभित्र देखिने परिवर्तनको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभामा बोल्दै सभापति थापाले कांग्रेस अब केवल नारामा सीमित नहुने, स्पष्ट नीति, कार्यक्रम र कार्यान्वयनको प्रतिबद्धतासहित अघि बढ्ने बताए। उनले नागरिकको सम्मान, अवसर र अधिकार सुनिश्चित गर्ने लक्ष्यसहित ‘भिजन १०’ ल्याइएको उल्लेख गरे।


१. सम्मानित भएर बाँच्न पाउने

प्रत्येक नेपाली नागरिक सम्मानपूर्वक बाँच्न पाउने वातावरण सुनिश्चित गरिने घोषणा गरिएको छ। राज्यको दृष्टिमा सबै नागरिक समान हुने, विचार र अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहने तथा जात, लिंग, धर्म, वर्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।


२. सपना देख्न सक्ने नेपाल


नागरिकले निर्धक्क भविष्यको सपना देख्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ। आर्थिक विकास, नीतिगत स्थिरता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै युवाको ऊर्जा र नवीन सोचलाई राष्ट्रिय विकासमा जोड्ने योजना प्रस्तुत गरिएको छ।


३. श्रम र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

उद्यमशीलता र श्रमको सम्मान गर्दै रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ। स्वदेशमै उत्पादन वृद्धि, साना तथा मझौला उद्योगको प्रवर्द्धन र श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिने उल्लेख गरिएको छ।


४. पेटभरी खाने, खेतलाई सिञ्चाइ गर्ने किसानको नेपाल


कृषि क्षेत्रलाई उत्पादन र समृद्धिको आधारका रूपमा स्थापित गर्दै किसानलाई सिञ्चाइ, प्रविधि, मल–बीउ, बजार र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।


५. औषधि र ओत दिने नेपाल


स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गरिने, स्वास्थ्य बीमा प्रणाली सुदृढ बनाइने र विपन्न नागरिकलाई विशेष संरक्षण दिइने उल्लेख गरिएको छ।


६. थोरैथोरै पढाउँदा आर्थिक भार नपर्ने नेपाल


आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट वञ्चित नहुने व्यवस्था मिलाइने, सार्वजनिक शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाइने तथा सीपमूलक शिक्षामा जोड दिइने योजना अघि सारिएको छ।


७. बेथिति र ढिलासुस्ती विरुद्धको शासन भएको नेपाल


भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि र डिजिटल प्रशासनमार्फत छरितो सार्वजनिक सेवा प्रवाह सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।


८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल


नेपालको विविध भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै आधुनिक र प्रतिस्पर्धी राष्ट्र निर्माण गर्ने लक्ष्य दस्तावेजमा समेटिएको छ।


९. छिमेकीसँग सम्मान गर्ने स्वाभिमानी नेपाल


स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमार्फत राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्दै छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सम्मानका आधारमा सहकार्य विस्तार गरिने उल्लेख गरिएको छ।


१०. समुन्नतिमा लगाउने नेपाल


कृषि, उद्योग, ऊर्जा, पर्यटन र सूचना प्रविधि लगायतका क्षेत्रलाई गतिशील बनाउँदै दिगो विकासमार्फत समुन्नत नेपाल निर्माण गर्ने दीर्घकालीन लक्ष्य कांग्रेसले अघि सारेको छ।
जनकपुरको आमसभाबाट घोषणा गरिएको यो ‘भिजन १०’ लाई कांग्रेसले आगामी राजनीतिक कार्यदिशाको स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत गरेको छ। सभापति थापाले अब परिवर्तनको बहस नीतिगत स्पष्टता र कार्यान्वयन क्षमतामा केन्द्रित हुने बताए।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!