सर्लाही
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडक खण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना फागुन ७ गते साँझ करिब ८ बजेतिर भएको बताइएको छ ।
प्रहरीका अनुसार हरीपुरवा नगरपालिका–९ बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनापछि उनीहरू अचेत अवस्थामा फेला परेका थिए ।
घाइते भएका २२ वर्षीय विक्रम राय र रामविश्वास रायको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकलमा क्षति पुगेको छ ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय बासिन्दाले उक्त सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको भन्दै सावधानी अपनाउन र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।