विराटनगर चक्रपथ निर्माणको प्रतिबद्धता : डा. कोइराला

विराटनगर ।

शेखर कोइराला ले मोरङ क्षेत्र नं. ६ मा सुकुम्बासी व्यवस्थापनदेखि पूर्वाधार विकाससम्मका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा विराटनगर–६ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका बासिन्दालाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिलाउने कार्यलाई अघि बढाउने बताए।
उनले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायसँग छलफल प्रारम्भ गरिसकेको जानकारी दिए। आयोगका पदाधिकारीलाई बस्तीमै ल्याएर स्थानीयका गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने वातावरण तयार पारिने उनको भनाइ थियो। “तपाईंहरूको समस्या कागजमा होइन, व्यवहारमा समाधान हुनुपर्छ,” उनले भने, “कानुनी प्रक्रिया पूरा गरी सुरक्षित बसोबासको व्यवस्था मिलाइनेछ।”
कोइरालाले विकासको अर्को महत्वपूर्ण एजेन्डाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारे। चक्रपथ निर्माण नहुँदा शहरको समग्र विकास प्रभावित भएको उल्लेख गर्दै उनले यसले व्यापार, आवागमन र शहरी पूर्वाधार विस्तारमा प्रत्यक्ष प्रभाव पार्ने बताए। आफू निर्वाचित भए आवश्यक बजेट व्यवस्थापन र सम्बन्धित निकायसँग समन्वय गरी चक्रपथ निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने उनको प्रतिबद्धता थियो।


वडा नं. ६ भित्र अलपत्र अवस्थामा रहेको कालोपत्रे सडक निर्माणबारे बोल्दै उनले ठेक्का लागिसके पनि ठेकेदार सम्पर्कविहीन हुँदा काम रोकिएको बताए। निर्वाचनपछि निर्माण कार्यलाई पुनः गति दिइने र ढिलासुस्ती अन्त्य गरिने उनको आश्वासन थियो। विकासका अधुरा कामलाई पूरा गर्नु नै पहिलो जिम्मेवारी हुने उनले स्पष्ट पारे।
त्यसैगरी, वडा नं. ६ नजिकैको सुकुम्बासी बस्ती क्षेत्रमा अस्पताल स्थापना गर्ने तयारीसमेत अघि बढाइएको जानकारी उनले दिए। दुई वर्षअघि नै अस्पताल निर्माणका लागि जग्गा छुट्याइएको उल्लेख गर्दै अब त्यसलाई कार्यान्वयनको चरणमा लैजान आवश्यक पहल गरिने बताए। स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा उनले समृद्ध विराटनगर निर्माणका लागि योजनाबद्ध विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थनको अपिल गरे।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *