निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्न आयोगले गराए गइ पुनःस्मरण


काठमाडौं —

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाहरूलाई पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनुका साथै उल्लेख्य संख्यामा उजुरी दर्ता भएपछि आयोगले सबै सरोकारवालालाई सचेत गराएको हो।
प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुने तय भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाल सरकार र सरकारका मन्त्रीहरू, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लाग्नेछ। त्यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय तथा तिनका पदाधिकारी, स्थानीय कार्यपालिका र तिनका सदस्यहरू, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरू पनि आचारसंहिताको दायराभित्र पर्नेछन्।
यसका साथै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरूलाई समेत आचारसंहिता पूर्ण रूपमा लागू हुने आयोगले स्पष्ट पारेको छ। निर्वाचन अवधिमा राज्य स्रोत, साधन तथा पदको दुरुपयोग नगर्न, कुनै पनि पक्षको पक्षमा प्रभाव पार्ने गतिविधि नगर्न र कानुनअनुसार तोकिएका आचरणहरू पालना गर्न आयोगले आग्रह गरेको छ।


आयोगले आचारसंहिता उल्लङ्घनका विषयमा प्राप्त उजुरीहरूलाई गम्भीरतापूर्वक लिइएको जनाउँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *